हामीले पनि बाँच्न पाउनु पर्‍याे नि, एकदमै अराजकताको पनि पराकाष्टा भयो : चोलेन्द्रकी छोरी सुनिधी



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधी राणाले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग अपील गरेकी छन् ।

जबराकी छोरी सुनिधिले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताइन्।


आइतबार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताइन् ।

देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाई दिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको बताइन्। उनले भावविह्वल हुँदै स्कुलमा रहेको बच्चा ल्याउने नदिने, औंषधि ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको दुःखेसो गरिन्।

हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ? भन्ने कुरा आफूहरुले बुझ्न नसकेको उल्लेख गर्दै सुनिधिले त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गरिन्।

सुनिधिको भनाइको पूरा अंश:

बुवा १० बजे अदालत जाने भनेपछि पुलिसहरु एकदमै आक्रामक शैलीमा हाम्रो निवासको बाहिर जम्मा हुनुभयो । उहाँहरुले हामीलाई बाहिर निस्कन पनि दिइराख्नुभएको छैन । सञ्चो छैन, औषधिहरु लिन जानु पर्‍याे । बच्चाहरुलाई लिन जानुपर्छ, । एकजनाले बच्चा लिएर आउँदा उहाँलाई पनि समातेर लगेर थुनिदिए । हामीले पनि बाँच्न पाउनु पर्‍याे नि । एकदमै अराजकताको पनि पराकाष्टा भयो ।

अब के कारणले यिनीहरुले गरिराख्या छ भन्ने कुरा हामीले पनि बुझिराख्या छैन । यिनीहरुलाई लाज, नैतिकता पनि हराएर हामीमाथि यस्तो अन्याय, अत्याचार भएको छ । अब यो सबै कुरा नेपाली जनताले बुझिदिनु पर्‍याे । हामी यही टेलिभिजनबाट, मिडियाबाट आह्वान गर्न चाहन्छौं–सबजनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने सबजना उठेर आइदिनुपर्‍याे ।

हामीहरुलाई यस्तो बेलामा नजरबन्दमै राखिएको छ । बाहिर निस्कन र भित्र जान सक्ने हाम्रो कन्डिसन छैन । उहाँहरुले पावर देखाएर हामीलाई यस्तो गरिराख्नु भएको छ । एउटा ठूलो अपराधीले कुनै मान्छेलाई नै मारेर लुकाएको जस्तो किसिमको व्यवहार प्रहरीले हामीमाथि गरेको छ । सरकार हाम्रो विरुद्धमा लागेको छ । हाम्रो हातखुट्टा नै बाँधिराखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्न सक्छौं ?

हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनताहरुसँग हो । हामीले बिन्ति गरेका छौं उहाँहरुसँग । उहाँहरुले के सही हो, के गलत हो, छुट्टयाएर, बुझेर सबैजना जम्मा भएर आई दिनु पर्‍याे । अब घरमा बसेर, सोसल मिडिया हेरेर, म्यासेन्जरमा स्क्रोल गरेर, कमेन्ट गरेर मात्रै हुँदैन । यदि उहाँहरुलाई दशेको माया छ भने, अदालतको माया छ भने हामीलाई सहयोग गर्नु पर्‍याे ।’