लिमीमा हिमपात



सिमकोट । हिमालपारिको गाउँको नामले चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीसहित उच्च भेगमा हिमपात भएको छ । होचो स्थानमा दुई दिन लगातार पानी परेपछि लिमीसहित अग्गा डाँडामा हिमपात भएको छ । हिमपातले हिमाल सेताम्य देखिएको छ ।

हिमपातले चिसो बढेसँगै लेकमा भएका पशुवस्तु र गाई गोठालालाई समस्या बनाएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयवासीले बताएका छन् । नाम्खा–६ को लिमी गाउँमा असोज महिनामै हिमपात भएको हो ।


बिहीबार रातिदेखि लगातर वर्षा हुँदा हुम्लाको उतरी लिमीका तीनवटै तिल, हल्जी र जाङ गाउँमा एक्कासि हिमपात भएको स्थानीयवासी तेन्जिननुर्वु लामाले बताए । उनका अनुसार अविरल परेको हिमपातले अन्नबालीमा क्षति पु¥याएको छ ।

अविरल वर्षा हुँदा वर्षको एक पटक पाक्ने बाली नाफललगायत अन्नपात नष्ट गरेको छ । फेरि यो वर्ष पनि लिमीबासीलाई सरकारी राहतमाथि निर्भर हुन् बाध्य पर्ने लामाले गुनासो पोखे । गाउँपालिकाका अध्यक्ष प्रेम लामाले न्याउलु लेकको बाटो खुलाई सक्दो राहतको पहल गर्ने बताए ।

उत्तरी हुम्लामा कात्तिक महिना अन्तिम सातादेखि हिमपाता सुुरु हुनुपर्नेमा यसपटक समयमा मौसम परिवर्तनकै कारण भदौ अन्तिम दिनमा हिउँ परेको हो । उत्तरी नाम्खाको लिमीमा चार इञ्च हिउँ जमेकोे नाम्खा–६ का वडाअध्यक्ष पाल्जोेर तामाङले बताए । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र अविरल वर्षापछि प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेका छन् ।