राष्ट्रसङ्घको महासभामा भारतको तर्फबाट विदेश मन्त्री नेतृत्वको टोली जाने



संयुक्त राष्ट्रसंघको महासभामा भारतको तर्फबाट विदेश मन्त्री नेतृत्वको टोली सहभागी हुने भएको छ । भारतका विदेश मन्त्री एस जयशंकरको नेतृत्वको टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने अधिकारीहरूले जनाएका छन् । उहाँको टोली यही सेप्टेम्बर १८ देखि २८ सम्म अमेरिका रहने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको ७७औ महासभा यही सेप्टेम्बर १३ देखि अमेरिकाको न्युयोर्कमा सुरु भइसकेको छ । महासभामा शीर्ष नेताहरूले भने यही सेप्टेम्बर १९ देखि २३ तारिखसम्म सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा भारतका विदेश मन्त्री जयशंकरले ‘जी–फोर’ मन्त्रीस्तरीय बैठक पनि सञ्चालन गर्नुहुने मन्त्रालयले जनाएको छ ।


बैठकमा भारतसँगै ब्राजिल, जापान र जर्मनीका मन्त्रीहरु सहभागी हुनुहुनेछ । भ्रमणका क्रममा उहाँले विभिन्न देशका शीर्ष नेता र समकक्षीहरूसँग पनि भेटेर दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ । भेटका अवसरमा उहाँले आपसी सम्बन्धलाई थप बलियो बनाउने र सहकार्य बढाउने बारेमा कुराकानी गर्नुहुने जनाइएको छ ।