महाभियोग सिफारिस समितिले संसद सचिवालयमा प्रतिवेदन बुझाउने



काठमाडौँ । संसदको महाअभियोग सिफारिस समितिले प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराबिरुद्धको प्रतिवेदन आज नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ ।

शनिबार बिहान बसेको समितिको बैठकले प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिएको बयानमा हस्ताक्षर गरिसकेकोले आज नै समितिको दोस्रो बैठक बसेर संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो ।


सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिए ।

उनले आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गरेको र समिति सदस्यहरुको प्रतिप्रश्नको समेत जवाफ दिएको बताए ।

उनले भने, ‘आज शुरुमा नै म सबैमा साइन गर्छु, खासै तलमाथि केही रहेनछ भनेर बैठकमा दिएका बयानमा हस्ताक्षर गर्नुभयो । त्यसपछि सदस्यहरुले प्रतिप्रश्न गर्नुभयो । प्रतिप्रश्न गर्दा थप प्रष्ट गर्ने काम भयो । दोस्रो बैठक ३ बजे बस्छ । दोस्रो चरणमा हामी प्रतिवेदनको निर्णयार्थ पेस हुन्छ । सचिवालयमा हामी बुझाउँछौँ ।’

आजै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुँदैछ । त्यसैले आजै सभामुखलाई प्रतिवेदन बुझाउने समितिले तयारी गरेको हो । प्रतिनिधिसभाको कार्यकाल सकिन लागेकाले प्रतिवेदनमाथि छलफल गर्ने सम्भावना भने छैन ।