परमादेशबाट असंवैधानिक तरिकाले सरकार गठन गरिनुचाहिँ प्रतिगमन हो : ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सफल भएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समग्रमा यो संसदको कार्यकाल सफल भएको बताएका हुन् । उनले यो संसदले संविधानका लागि थुप्रै कानुन बनाएको बताए । अध्यक्ष ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने बताए ।


उनले सर्वोच्च अदालतको परमादेशबाट प्रतिनिधिसभा पुनःस्थापनालाई असंवैधानिक कदमको संज्ञा दिए । उनले भने, ’गत वर्ष वैशाख १७ र २७ गते चुनाव गर्दा प्रतिगमन कहाँ आउँथ्यो । निर्वाचनमा जानुलाई प्रतिगमन भनिँदैन । परमादेशबाट असंवैधानिक तरिकाले सरकार गठन गरिनुचाहिँ प्रतिगमन हो ।’

यसअघि संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परमादेशकै कारणले सदनमा ओलीसँग संसद्मा भेट भएको बताएका थिए ।

उनले वर्तमान सरकारको पालामा भ्रष्टाचारसमेत बढेको बताए । उनले भने,’आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु । अहिले भ्रष्टाचार त के कुरा गर्नु र ? भन्दा देख्नेलाई लाज ।’

उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र धाँधलीरहित सम्पन्न गर्नुपर्ने बताए । अध्यक्ष ओलीले भने, ‘गएको स्थानीय तह निर्वाचनमा सत्ताको दुरुपयोग गरियो। प्रहरी प्रशासन, राज्य संयन्त्रको दुरुपयोग गर्ने काम भयो। लोकतन्त्रभित्र त्यस्ता तौरतरिका नपनाइयोस्।’