गलेश्वर । ‘माल पाएर के गर्नु चाल नपाएपछि’ यो भनाइलाई म्याग्दीको दुर्गम गाउँ गुर्जामा रहेको बहुमूल्य पत्थर खानी (कार्जस्टोन) ले सत्य प्रमाणित गरिदिएको छ ।
जिल्लाको धौलागिरि गाउँपालिका-१ गुर्जाको पहाडमा रहेको हिराजस्तै टल्किने बहुमूल्य कार्ज ढुङ्गाखानी उत्खननतर्फ अहिलेसम्म सार्थक पहल नहुँदा पहरामा नै टल्किएर यस्तो हुन्छ ‘भिल्लाका देशमा मणीको नियति’ भन्ने सन्देश प्रवाह गरिरहेको छ ।
हिरा, मोतीजस्ता बहुमूल्य विलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुङ्गाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भइसक्दा पनि उत्खननका लागि राज्यले कुनै पहल नगर्दा अलपत्र अवस्थामा परेको हो । खानी तथा पुरातत्व विभागले एक दशकअगाडि उक्त ढुङ्गा खानीको पहिचान गरे पनि उत्खननका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र परेको स्थानीयवासीले बताएका छन् ।
गुर्जाको घुर्मखोला र गुर्जा हिमालको फेदमा वर्षौंअघि पहिचानमा आएको कार्ज ढुङ्गाको खानी आवश्यक उपकरणको अभाव, राज्यको अनुमति नहुनु र स्थानीयवासीको उदासिनताका कारण उत्खनन हुन नसकेको गुर्जावासीको भनाइ छ।
सुन, चाँदीजस्ता बहुमूल्य धातुमा जडान गरी गहना बनाउन प्रयोग हुने कार्ज ढुङ्गाको माग बजारमा अत्यधिक रहेको जानकार बताउँछन् । गुर्जा गाउँदेखि करिब एक दिनको पैदल यात्रापछि पुगिने घुर्मखोला वरपरका पहाडमा रातका समयमा बत्ती बले झैँ गरी टल्कने कार्ज ढुङ्गा बहुमूल्य पत्थर भएको स्थानीय देवबहादुर विकले बताए ।
कार्जस्टोनको जेम्स क्वालिटीलाई मिलिग्रामकै लाखौँ रुपैयाँ पर्ने नेपाल सुनचाँदी तथा आभूषण व्यवसायी बताउँछन् । खानीबाट प्रारम्भिक चरणमा निकालिएका ढुङ्गा (पत्थर)मध्ये औसतमा एकदेखि १५ प्रतिशतसम्म हुनसक्ने व्यवसायीको भनाइ छ ।
‘जेम्स क्वालिटी’ अर्थात् गहनामा प्रयोग गर्न मिल्ने स्तरका ढुङ्गा आभूषणमा प्रयोग हुन्छन् भने बाँकी ढुङ्गा सौन्दर्य प्रसोधनमा प्रयोग हुने गरेको उनीहरूको भनाइ छ। नेपाल सुनचाँदी तथा आभूषण महासङ्घका अनुसार त्यस्ता ढुङ्गाको प्रति १० ग्रामको मूल्य १० लाख रुपैयाँभन्दा बढी हुनसक्छ। कच्चास्वरूपमा पाँच सयदेखि तीस हजार रुपैयाँसम्म पर्ने यस्ता ढुङ्गा प्रशोधन भएर जेम्स क्वालिटीमा पुगेपछि ग्राम र क्यारेटमा बिक्री हुन्छ।
विगतमा खानी सञ्चालकले कच्चा स्वरूपमा नै यस्ता ढुङ्गाको निर्यात गर्ने गरेका थिए। दुई वर्षदेखि सरकारले कच्चा स्वरूपका यी खनिज पदार्थको निर्यातमा प्रतिबन्ध लगाएको छ। खानी नियमन गर्न भरपर्दो कानुन नभएका कारण नयाँ नीति ल्याएर मात्र बिक्रीवितरण गर्ने र निकासी गर्ने भन्दै रोकिएको बताइएको छ।
औपचारिकरूपमा निकासी रोकिएको भए पनि खुला सिमानाको फाइदा उठाउँदै अवैधरूपमा यस्ता ढुङ्गाको निकासी कायम रहेको गुनासो व्यवसायीले गरेका छन्। यस्ता बहुमूल्य ढुङ्गाको चोरी तस्करी नियन्त्रणका लागि नेपालमै प्रशोधन गर्नेलाई सरकारले प्रोत्साहन दिनुपर्ने माग नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको छ।
कार्ज ढुङ्गाको उत्खननका लागि स्थानीयस्तरबाट सम्भव नभएको र राज्यले चासो नदेखाएका कारण यो अलपत्र अवस्थामा परेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकप्रसाद छन्त्यालले बताउनुभयो। कार्जस्टोन (ढुङ्गा)का साथसाथै सो स्थानमा हिराको खानीसमेत हुनसक्ने अनुमान गरिएको छ।
एक दशकअघि सो स्थानको स्थलगत अध्ययन गरी नमूनासमेत ल्याइएको थियो। सोही नमूना २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो। प्रदर्शन अवधिमा सबैको आकर्षण बनेको सो कार्ज ढुङ्गा त्यसपछि परीक्षणका लागि काठमाडौँ पठाइएको थियो।
खानी तथा भूगर्भ विभागबाट अहिलेसम्म सो ढुङ्गाका विषयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको बताइएको छ। कार्ज ढुङ्गाको खानी वर्षौं पहिले उत्खनन गरेजस्तो देखिने र नमूना हेर्दा हिराको खानी पनि हुनसक्ने स्थानीय बुढापाकाको भनाइ छ।
साँघुरो रहेको खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयवासीले घरेलु प्रविधिको प्रयोग गरेर पत्थर निकाल्ने प्रयास गरे पनि सम्भव नदेखिएपछि फर्किएको वडाध्यक्ष छन्त्यालले जानकारी दिए। ‘खानी सञ्चालनमा कानुनी प्रक्रिया नै झन्झटिलो देखिन्छ’, उनले भने, ‘प्रदेश सरकारबाट कानुनलाई अगाडि बढाउन सकेमा यस्ता खानी उत्खनन गर्न सकिन्छ।’
बजारमा अत्यधिक माग रहेको धातुमा प्रयोग हुने कार्ज ढुङ्गाको खानी उत्खनन गर्नसके स्थानीयवासीले रोजगारीका साथै स्थानीय सरकारकोसमेत आम्दानीमा सघाउ पुग्ने विश्वास उनको रहेको छ ।
खानी उत्खननका लागि सरकारले अनुमति दिइ आवश्यक प्रविधि उपलब्ध गराइदिने हो भने यहाँबाट अर्बौं रुपैयाँ मूल्य बराबरको कार्ज ढुङ्गा निकाल्न सकिने उच्च सम्भावना रहेको स्थानीयवासीको भनाइ छ। गुर्जाका भिरमा कार्ज खानी मात्र होइन, तामा, सिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि बन्द अवस्थामा रहेको स्थानीयवासी बताउँछन् ।