बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै



बाजुरा । जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ ।

पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । 


कार्यालयले एक सूचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्रह गरेको छ । पहिलो चरणमा फाइजर खोप पाएका बालबालिकालाई अनिवार्यरूपमा दोस्रो चरणको खोप लगाउन लागेको कार्यालय प्रमुख चन्दको भनाइ छ । 

स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य संस्थामार्फत खोप सञ्चालन गर्ने गरी खोप पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसका लागि स्वास्थ्यकर्मी पठाइएको छ । पहिलो चरणमा खोप पाएका बालबालिकालाई अनिवार्यरूपमा खोप लगाउन र उक्त खोपबाट नछुटाउने गरी आजदेखि सञ्चालन गर्न थालिएको हो । 

खोप नलाउँदा कोराना जोखिम उच्च हुने  र सङ्क्रमण बढी हुने सम्भावना भएकाले बालबालिकालाई खोप लगाउन आवश्यक रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।