नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री हस्तान्तरण



कराँची । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार आयोजित कार्यक्रममा पाकिस्तानका सम्बद्ध अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेको हो ।

अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत २२ टनभन्दा बढी सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल नेतृत्वको नेपाली प्रतिनिधीमण्डल आजै यहाँ आएको हो ।


उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजमार्फत पाकिस्तानको कराँची सहर ल्याइएको हो । यसअघि उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा नारायण खड्काले विदाई गरेका थिए । उक्त प्रतिनिधी मण्डल आजै साँझ काठमाडौँ फर्कने कार्यक्रम छ ।