काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा आरोप लगाएका व्यक्तिहरूसँग पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिने तयारी गरेको छ ।
समितिका सदस्य प्रमोद साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई गम्भीर आरोप लगाएकाले पनि उनीहरूलाई पनि बोलाइने तयारी भएको बताएका हुन् । बयानका क्रममा जबराले पूर्वन्यायाधीश,कानुन व्यवसायी, राजनीतिकर्मी, व्यवसायीलगायत व्यक्तिहरुको नाम लिएका थिए।
मंगलबार जबराको बयान सुरु हुनुअघि सञ्चारकर्मीसँगको कुराकानीमा सदस्य साहले भने, ‘जबराले नाम लिएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी छ । कसैले कसैमाथि आरोप लाउँदा पुष्टि हुने कुरा होइन । त्यसैले आरोप लगाइएका व्यक्तिहरूका कुरा पनि सुनिनुपर्छ भन्ने हो ।’
समिति सदस्य साहले यही मसान्तभित्र प्रतिवेदन तयार गरी संसद्समक्ष पेस गर्ने तयारी भएको पनि बताएका छन् । साथै महाभियोग गम्भीर कुरा भएको उल्लेख गर्दै बयान र प्रमाणहरू मेल खाएको उनको भनाइ छ । जबरामाथि लागेका केही आरोप प्रमाणित भएको पनि साहले बताए ।
‘महाभियोग भनेको त्यत्तिकै लाग्दैन, यो ठूलो आरोप हो । बयान र प्रमाणहरू मेल पनि खाएका छन् । यही महिनाभित्र प्रतिवेदन तयार गरेर पेस गर्ने तयारी हो । हामीले प्रतिवेदन तयार पार्ने हो । महाभियोग फेल हुन्छ वा पास हुन्छ । महाभियोग लाइसकेपछि के कुरा आयो भन्ने त प्रस्ट आउनुपर्यो नि । एमालेका साथीहरूले सोध्नुभएको प्रश्नहरूले पनि महाभियोग लाग्नुपर्छ भन्ने नै देखिन्छ । उहाँमाथि लगाइएका आरोपहरू धेरै प्रमाणित भएको पनि देखिन्छ,’ उनले भने ।