सत्ता गठबन्धन बैठक : अझै टुङ्गिएन सिट बाँडफाँड, एउटै क्षेत्रमा दोहोरो/तेहेरो दाबी



काठमाडौँ । सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँड अझै टुङ्ग्याउन सकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा विभिन्न तहमा छलफल भएपनि सहमति भने हुन सकेन । 


बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दुई, तीन र सर्वपक्षीय छलफलबाट सहमतिको प्रयास जारी रहेको जानकारी दिए । उनले सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताए । उनले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवटा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे । 

सञ्चारमन्त्री कार्कीले गठबन्धनमा सिट बाँडफाँटमा सबै दल लचिलो हुनुको विकल्प नभएको बताएका छन् । बालुवाटारमा सोमबार बिहानदेखि जारी गठबन्धनको  बैठकका बीचमा कार्कीले छलफल सकारात्मक भएको बताए ।

‘छलफल सकारात्मक छ । सबै लचिलो हुनुको विकल्प छैन । तथापि दलहरूको आ–आफ्नो अडान छ । ती अडानमा हामी सुक्ष्म ढंगले विश्लेषण गर्दै अगाडि बढिरहेका छौं,’ उनले भने । दोहोरो तेहेरो दाबी भएका निर्वाचन क्षेत्रमा गठबन्धनबाट एउटा उम्मेदवार बनाउने गरी दुई पक्षीय, त्रिपक्षीय र सामूहिक छलफल भइरहेको उनको भनाइ छ ।