साल्ट ट्रेडिङ कर्पोरेशन ६०औँ वर्षमा



काठमाडाैँ । सरकार र निजी क्षेत्रको सहभागितामा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशन आजदेखि ६०औँ वर्षमा प्रवेश गरेको छ ।

विसं २०२० भदौ २७ गते सरकारले कर्पोरेशनको स्थापना गरेको थियो । तत्कालीन समयमा जनतालाई सहजरुपमा नून उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै लगेको छ । कर्पोरेशनले पछिल्ला समय स्थानीय उत्पादनको बजारीकरणमा जोड दिँदै आएको छ ।


६०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङलाई नमूना संस्था बनाउने उद्देश्यका साथ आफूहरुले काम गरिरहेको बताइन् । आफ्नो सेवालाई थप प्रभावकारी बनाउन योजनाबद्ध हिसावले देशरभका डिलरमार्फत उपभोक्ताको माझमा पुगिरहेको उनको भनाइ छ ।

सो अवसरमा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने कर्पोरेशनमा कार्यरत कर्मचारीका सन्ततिलाई दुई वर्षसम्म मासिक रु तीन हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।