युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनी प्रत्याक्रमणविरुद्ध पूर्वी युक्रेनमा विद्युत् कटौती गरेर मानिसहरूलाई उज्यालो र न्यानोबाट वञ्चित गर्ने लक्ष्य राखेको बताएका छन् ।
विद्युत् पूर्ण रूपमा काटिनुले खार्किभ र डोनेट्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रभावित भएको बताइएको छ । युक्रेनको सेनाले पूर्वमा तीव्र गतिमा गरिएको प्रत्याक्रमणका क्रममा आफ्नो फौजले ३ हजार वर्गकिलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुनःप्राप्ति गरेको जनाएपछि ब्ल्याकआउट भएको हो।
खार्किभका मेयर इहोर तेरेखोभका अनुसार रुसले नागरिक पूर्वाधारमा गरेको आक्रमणका कारण सहरको धेरैजसो भागमा बिजुली र पानी छैन । उनले यसलाई युक्रेनी सेनाको पछिल्लो सफलताविरुद्ध एक दुःखद र निन्दनीय प्रयास भएको बताएका छन् ।
मेयर तेरेखोभ र त्यस क्षेत्रका गभर्नरले मानिसहरूलाई शान्त रहन आह्वान गर्दै आपत्कालीन सेवाहरूले क्षतिको मर्मत गर्न र आगो नियन्त्रण गर्न काम गरिरहेको जानकारी दिए ।
छिमेकी सुमी क्षेत्रका गभर्नरले त्यहाँको एक जिल्लामा मात्रै १३० भन्दा बढी बस्ती विद्युतविहीन रहेको बताए । निप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रहरूबाट पनि क्षतिको उस्तै विवरणहरू सार्वजनिक गरिएको छ । विद्युत् कटौतीपछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत् रुसले नागरिक पूर्वाधारलाई लक्षित गरेर आतङ्कवादी कार्य गरेको आरोप लगाएका छन्।