तातोपानी नाका खुलाउन चिनियाँ अधिकारीसँग छलफल भइरहेको छ : परराष्ट्रमन्त्री खड्का



काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसँगको तातोपानी नाकालाई सहज रूपमा खुला गर्न आफूले निरन्तर चिनियाँ अधिकारीसँग छलफल गरिरहेको बताएका छन्।

आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरूको टोलीसँगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाई सहज रूपमा सञ्चालनका लागि आफूले पटक पटक चिनियाँ अधिकारीसँग छलफल गरेको बताएका हुन्।


उनले चीनबाट सामान ल्याउनका लागि नाका सहज भएपनि पछिल्लो समय देखिएको विभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे। 

तिब्बतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुलाउन आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइरहेको उनले बताए। 

चिनियाँ स्थायी समिति अध्यक्ष लीसँगको भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने उनको भनाइ छ। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली सोमबार चार दिने नेपाल भ्रमणमा आउँदै छन्।

मन्त्री खड्काले भने, ‘चाँडो भन्दा चाँडो आयात निर्यातको खुला गर्ने कुरा गरिरहेको छु। यो चापलाई जतिसक्दो चाँडो खुलाउनुपर्‍यो भनिरहेको छु। भोलि चिनियाँ राष्ट्रिय कांग्रेसका सभामुख नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ। यसबारेमा मसँग पर्सी शिष्टाचार भेटको कार्यक्रम छ, त्यो बेलामा पनि म भनौँला । यसलाई म तदारुकताका साथमा दशैंभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने हिसाबले पहल गर्नेछु। यहाँहरूको माग पूरा गर्नका लागि हामी सक्षम हुनेछौँ।’’