भारतको आसाममा एक लाख सरकारी घर बनाइने



भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने तयारी गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

आसामका पञ्चायत तथा ग्रामिण विकास मन्त्री रन्जीत कुमार दासले आगामी सेप्टेम्बर १७ देखि ती घर बनाउने कार्य सुरु हुने जानकारी दिए । सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उनले शनिबार बताएका छन् । ती घरहरु प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन् ।


सरकारले घरवार विहिन रहेका, न्युन आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरु बनाउन लागिएको हो । ती घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरुलाई हस्तान्तरण गर्नेछ । भारतको केन्द्र सरकारले देशका अन्य प्रदेशहरुमा पनि प्रधानमन्त्री आवास योजना लागू गरि घरवार विहिनहरुलाई घर दिने कार्यक्रम बनाएको छ ।