गठबन्धनविरुद्ध बोल्दै नहिँड्न पार्टीका नेताहरुलाई गृहमन्त्री खाँणको चेतावनी



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसका नेताहरुलाई सत्ता गठबन्धनविरुद्ध भाषण गर्दै नहिँड्न चेतावनी दिएका छन् ।

नेपाल तरुण दल, काभ्रेले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री खाँणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताए ।


उनले गठबन्धनमा आवद्ध भएको हुनाले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे ।

उनले आफू काँग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिवद्ध रहेको बताए ।

गृहमन्त्री खाँणले भने, ‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ । तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली काँग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन । तपाईहरुलाई जे हो त्यही भनिदिनु पर्दछ । अहिले नेपाली काँग्रेसको भूमिका के हो ? नेपाली काँग्रेसको एउटा केन्द्रीय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने, यो निर्वाचनलाई शान्ति, सुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गर्ने दायित्व मेरो हो । त्यो म पूरा गर्नेछु । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनियता हो । राजनीतिक धर्म र दायित्व हो ।’

उनले नेपाली काँग्रेसले आफ्नो हैसियत अनुसार निर्वाचनको सिट संख्या बाँडफाँट गराउने काममा भने बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताए ।