पक्राउ पूर्जी जारीपछि गाउँपालिका अध्यक्ष फरार, कार्यबाहकको जिम्मेवारी वडाध्यक्षलाई !



नवलपरासी । आफ्नै व्यवसायिक साझेदारको सम्पत्ति हडप्न खोज्दा मुद्दा परेर फरार भएपछि रिक्त अध्यक्ष पदमा वडा अध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएपछि पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिकाकी उपाध्यक्षले आपत्ति जनाएकी छन् ।

गाउँपालिकाको नगरकार्यपालिका बैठकले उपाध्यक्ष फातुमा खातुन अन्सारीलाई बेवास्ता गर्दै वडा नम्बर १ का वडाअध्यक्ष चुल्हाईप्रसाद यादवलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको हो। वडाअध्यक्ष यादवलाई जिम्मेवारी दिएपछि गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले आपत्ति जनाएकी छन्।


आफ्नै व्यवसायिक साझेदारलाई लागुऔषधको झुठो मुद्धामा फसाएको आरोप लागेर अदालतले पक्राउ पुर्जी जारी गरेपछि गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता तीन साता यता फरार छन्।

उपाध्यक्ष खातुनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष लगातार एक सातासम्म कार्यालयमा उपस्थित नभएमा स्वतः उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने उल्लेख गरिएपनि बहुमतको नाममा कार्यपालिकाको बैठकले वडा अध्यक्ष यादवलाई कार्यबाहकको जिम्मेवारी दिएको भन्दै आपत्ति जनाएकी छन् ।

गत आइतबार बसेको कार्यपालिकाको बैठकबाट बहुमत सदस्यहरुले वडा अध्यक्ष यादवलाई कार्यबाहक गाउँपालिका अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेपछि बैठकमै फरक मत राखेर विरोध जनाएको उपाध्यक्ष खातुनले बताइन् ।

उनले भनिन्,‘त्यो बैठकमै मैले आपत्ति जनाउदै नोट अफ डिसेन्ट लेखेकी छु, ‘स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार गाउँपालिका अध्यक्ष लगातार एक सातासम्म कार्यालयमा उपस्थित नभएमा स्वतः उपाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिनुपर्ने उल्लेख गरिएको छ, तर उहाँहरुले बहुमतको नाममा कसरी वडा अध्यक्षलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन सक्नुहुन्छ ।’

उपाध्यक्ष खातुनले बहुमतको नाममा उपाध्यक्षलाई छोडेर वडा अध्यक्षलाई कार्यबाहक दिइनु जालसाजीपूर्ण र स्थानीय सरकार सञ्चालन ऐन विपरित भएको बताइन्। ‘ऐन र कानुनमै उल्लेख गरिएका कुरा कसरी बहुमतको नाममा परिवर्तन गर्न पाईन्छ, यो स्थानीय सरकार सञ्चालन ऐन विपरित रहेकोले मेरो गम्भिर आपत्ती छ,’ खातुनले भनिन्।

खातुनले कार्यपालिका सदस्यहरुले वडा अध्यक्ष यादवलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको भएपनि उनलाई कार्यवाहक अध्यक्षको काम गर्न ऐनले रोकेकोले अहिले गाउँपालिकाका महत्वपूर्ण काम कारवाही रोकिएको बताइन्।उनले भनिन्,‘कार्यपालिकाले वडाअध्यक्षलाई कार्यबाहक दिएर कहाँ हुन्छ, कुनैपनि निर्णयमा उनको हस्ताक्षर चल्दैन उनलाई पनि कार्यपालिका सदस्यहरुले झुक्याइरहेका छन्।’।

कार्यबाहक अध्यक्षको विषयमा विवाद उत्पन्न भएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले कार्यपालिकाले गरेको निर्णयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको बताए । ‘कार्यपालिकाले गरेको निर्णय मन्त्रालयमा पठाइएकोले मन्त्रालयले जे निर्णय गरेर पठाउँछ गाउँपालिका अध्यक्ष उपस्थित नहुँदा सम्म सोहि अनुसार काम अगाडी बढ्ने छ,’ गौतमले भने।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँचदलिय गठबन्धनबाट माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। भागवण्डाबाट उपाध्यक्षमा भने नेपाली कांग्रेसकी अन्सारी निर्वाचित भएकी थिइन्।

त्यस्तै ६ जना वडा अध्यक्षमा तीन जना माओवादी केन्द्र, दुईजना नेपाली कांग्रेस र एकजना लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। त्यस्तै कार्यपालिका सदस्यमा भने जनता समाजवादीबाट १ जना र बाँकी ६ जना माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

गठबन्धनबाट चुनाव लडि निर्वाचित भएपनि निर्वाचन पछि गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बहुमत र अल्पमतको आधारमा निर्णय गर्न थालेको उपाध्यक्ष खातुनको भनाई छ।

गुप्ताले आफुसँगै साझेदारीमा व्यापार गर्दै आएका भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई झुठो लागुऔषध मुद्धामा फसाएर व्यापारको एक करोड बढी मुनाफा हडप्ने षडयन्त्र गरेको आरोप लागेको छ।

गुप्ताले रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानसँगै मिलेर सुनवलको भुमहीमा कवाड व्यवसाय संचालन गरेका थिए। सोही कवाड बिक्री गरेको एक करोड भन्दाबढी रकम हडप्ने उद्देश्यले प्रहरीको मिलेमतोमा उनीहरुलाई योजनाबद्ध रुपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा उनलाई पक्राउ पुर्जी जारी भएको हो।

गत असार २२ गते जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट गुप्ता र पासवानलाई पक्राउ गरेको थियो। उनीहरुसँग डाइजेपाम, फेनारगन लगायतका लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो।