प्रविधि पुस्तकको विकल्प होइन : प्रधानमन्त्री मोदी



नयाँ दिल्ली । सूचना र प्रविधि पुस्तकको विकल्प बन्न नसक्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

गुजरातको नवभारत साहित्य मन्दिरले भिडियो कन्फरेन्समार्फत अहमदाबादमा आयोजना गरेको पुस्तक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले पुस्तक र पाठक शिक्षाका आधारभूत तत्त्व रहेको बताएका छन् । शिक्षाको आधारभूत तत्त्वको रूपमा पुस्तक र पाठ रहेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रविधि निस्सन्देह सूचनाको एक महत्त्वपूर्ण स्रोत हो तर पुस्तकको विकल्प होइन भनेका छन् ।


“आज इन्टरनेटको जमानामा यो सोच प्रबल हुँदै गइरहेको छ । कुनै कुराको आवश्यकता पर्दा इन्टरनेटको सहारा लिनेछौं । प्रविधि हाम्रा लागि सूचनाको एक महत्वपूर्ण स्रोत हो तर यो पुस्तकहरू प्रतिस्थापन गर्ने माध्यम होइन।” मोदीले भने । “हामी स्वतन्त्रता सङ्ग्रामका बिर्सिएका कथाहरू पुनःस्मरण गर्न प्रतिबद्ध छौं र त्यसो गर्नमा पुस्तक मेलाहरूको आयोजनाले सधैं महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।” उनले भने ।

प्रधानमन्त्रीले आफूले त्यहाँ ‘वाञ्चे गुजरात’ अभियान शुरु गरेको बताएका छन् । उनले ‘कलम नो कार्निवल’ जस्ता अभियानले गुजरातको त्यो सङ्कल्पलाई अगाडि बढाउने बताए । गुजरातमा पुस्तकालयहरूको धेरै पुरानो परम्परा रहेको उनको धारणा रहेको छ।