मर्चवारवासीलाई सडकको सास्ती



लुम्बिनी । साथीको जन्मदिनको पार्टीमा सरिक हुन भैरहवा जाँदै गरेका सम्मरीमाई–३ पिपरहवाका अरूणकुमार सहानी मायादेवी–७ वनगाईबाट घर फर्किनुप¥यो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले अधिग्रहण गरिराखेको मर्चवारको मुख्य बाटोमा उनी चिप्लिएर हिलाम्मे भई फर्किनुपर्दा पार्टीमा सहभागी हुन पाएनन् ।

सम्मरीमाई–७ बस्ने अरविन्द लोधको व्यथा पनि उस्तै छ । विसं २०७८ असारमा वडा नं ३ भटौली जान निस्कीएका उनको मोटरसाइकल सम्मरीमाई–५ थुम्हवास्थित मुख्य बाटोमा बन्द भयो । दानव नदीको बाढी पानीले नदेखिने बनाएको सडक खाल्डोमा मोटरसाइकल स्टार्ट बन्द हुँदा इञ्जिनमा पानी पसेर बिग्रियो ।


छोरीको आँखा उपचारका लागि रण अम्बिका आँखा अस्पताल भैरहवा जाँदा मर्चवारी–३ का दिलीप बरइ कोटहीमाई–७ परसहवा पुग्दा हिलाम्मे भए । विपरीत दिशामा गुडिरहेको पिकअप भ्यानले उनीमाथि सडकमा जमिरहेको पानी छ्यापेपछि उनी घर फर्केर कपडा परिवर्तन गर्दासम्म दुई घण्टाभन्दा बढी समय खर्चिनुप¥र्यो ।

अरूण, अरविन्द र दिलीप त प्रतिनिधि पात्र मात्र छन् । त्यहाँ समस्या न झेलेकाहरू भेट्न गाह्रो छ । जिल्लाको सदरमुकाम जोड्ने एकमात्र सडकको अवस्था जीर्ण भएपछि सर्वसाधारणको आवतजावतमा समस्या थपिएको छ । केही वर्षअघि गरिएको कालोपत्र फुटेर दर्जनभन्दा बढी ठाउँमा खाल्टाखुल्टी परेका छन् । अरूणले भने, ‘भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यात्रा गर्नुपर्ने बाध्यता छ ।’

दिलीपले सडकमा रहेको खाल्टोकै कारण दुर्घटनामा पर्दा दाहिने हात भाँचिएको सुनाए । हिलो र धुलो नेपाली सडकको पहिचान नै हो । रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवार र लुम्बिनीको दुरावस्था पनि भिन्न छैन । सडक ठाउँठाउँमा टुटेका र भत्केका छन् । खाल्टाखुल्टी परेको सडक मर्मतसम्भारको अभावमा मर्चवारवासी सास्ती खेप्न बाध्य छन् । यात्रा गर्दा दर्जनौँले दुर्घटना भोगेका छन्, कैयौँको पोशाकमा हिलो छ्यापिएको छ । हल्का पानी पर्दा सडकमा ताल खेलेको जस्तो देखिन्छ ।

खाल्टाखुल्टी र भत्किएका सडकका कारण सवारी यात्रा कष्टप्रद छ । तीन गाउँपालिकासहित मायादेवीको वडा नं ५, ६ र ७ जोडिएको यो क्षेत्रमा एउटा मात्र प्राथमिक स्वास्थ्य केन्द्र छ । तर विशेषज्ञ चिकित्सक कमै मात्र बस्छन् ।

यो क्षेत्रका १५ स्वास्थ्यचौकी र पाँच आधारभूत स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी सेवा दिन सकेका छैनन् । आकस्मिक घटना–दुर्घटना निम्तिए खाल्टाखुल्टी सडककै कारण सदरमुकाम भैरहवास्थित सुविधासम्पन्न अस्पताल पु¥याउन ढिलो हुन्छ । झन्डैै दुई सय वर्ग किमी क्षेत्रफलमा फैलिएको मर्चवारमा सवा लाखभन्दा बढी मानिसको बसोबास छ ।

यो क्षेत्रले विसं २०१४ साउन ११ देखि कात्तिक १४ सम्म डा केआइसिंहलाई प्रतिनिधिका रूपमा प्रधानमन्त्री, त्यसपछि दीपक बोहरा, निरञ्जन थापा र सर्वेन्द्रनाथ शुक्ललाई विभिन्न महत्वपूर्ण मन्त्रीका रूपमा पटकपटक पाएको छ । यसै क्षेत्रबाट चुनाव जितेर प्रदेशसभा सदस्य भएका वसिउद्दीन खाँ अहिले लुम्बिनी प्रदेश सरकारको मन्त्री भएका छन् ।