दमौली । तनहुँको सदरमुकाम दमौलीको काख भएर मादी र सेती नदी बग्छ । उक्त नदीको सङ्गमस्थल नजिकै पर्छ, व्यासऋषिको आश्रम व्यासगुफा । व्यासऋषिको तपोभूमिका रूपमा परिचित ठाउँ हो व्यासगुफा । सोही गुफामा बसेर भगवान् व्यासऋषिले चारवेद र अठार पुराणको रचना गरेका बताइन्छ ।
उनको योगदानको कदर गर्दै तपोभूमि व्यास क्षेत्रमा व्यासको पूर्णकदको मूर्ति निर्माण थालिएको छ । हुन त यसअघि पनि व्यासऋषिको मूर्ति निर्माणका प्रयास नभएका होइनन् । आर्थिक स्रोत जुटाउन नसक्दा मूर्ति निर्माण प्रक्रिया अघि बढाउन नसकिएको बताउनुहुन्छ मूर्ति निर्माण समितिका सचिव मदन पण्डित । उनले भने ‘धेरै वर्षको प्रयासपछि बल्ल सपना पूरा भएको छ ।’
व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर परिसरमा एक सय आठ फिट अग्लो व्यासको मूर्ति निर्माणकार्य अघि बढाइएको उनले जानकारी दिए । विसं २०७८ जेठ ३० गते सम्झौता गरी विसं २०७९ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि बल्ल निर्माणले गति लिन थालेको छ ।
ठेक्का सम्झौता गरी निर्माण थाले पनि जग खन्ने स्थानमा पानीको मूल फुटेर समस्या भएपछि निर्माण अघि बढाउन ढिलाइ भएको उनले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६५ प्रतिशत, व्यास नगरपालिका र व्यास शिवपाञ्चायन संरक्षण कोषको ३५ प्रतिशत लागतमा निर्माण सम्पन्न गर्न लागिएको हो ।
कुल रु सात करोडको लागतमा व्यासको पैतला रहने स्थानसम्म (पेडेस्टल) निर्माण गर्न लागिएको छ । मन्त्रालयबाट बजेट निकासा नहुँदा अर्थाभावका कारण निर्माण प्रभावित हुने देखिएको व्यास शिवपाञ्चायन संरक्षण कोषले जनाएको छ । व्यासको मूर्ति अगाडिको भागमा गणेशको मूर्ति राखिने छ । मादीसेती नदीको सङ्गमस्थल आकारको डुङ्गा बनाउने र डुङ्गामा परासर र मत्स्यगन्धा सवार मूर्ति निर्माण गर्ने समितिले जनाएको छ ।
त्यसैगरी मूर्तिसँगै महर्षि वेदव्यास र परासरको वृत्तचित्र बनाउने, फोटो प्रदर्शनी हल बनाउने, धर्मशाला, कुटी, ध्यान गर्ने हल, चमेनागृह, कोसेली घरलगायत निर्माण गरिनेछ । मूर्तिलाई थप आकर्षण बनाउन दुबोसहितको बगैँचा, टिकट काउन्टर, प्रतीक्षालय रहनेछ । मूर्ति निर्माण सम्पन्न पश्चात् दमौली विश्वका सबै हिन्दू धर्मको उद्गमस्थल बन्ने विश्वास गरिएको एक सय आठ फिट अग्लो मूर्ति निर्माण समितिका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए ।
एक सय आठ फिट अग्लो व्यासको मूर्ति नेपालको मात्रै नभई विश्वकै अग्लो हुने शान्ति स्वरूपानन्द दामोदर बाबाले बताए । मूर्ति निर्माण सम्पन्नपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा कायपलट हुने विश्वास गरिएको छ । उक्त मूर्ति निर्माणको ठेक्का गौरी पार्वती÷देव एण्ड सयर/ऋषिशक्ति जेभी काठमाडौँले पाएको छ ।