बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर



नवलपुर । अभिनेता पल शाहलाई अदालतले बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सजाय सुनाएको छ । मंगलबार जबरजस्ती करणीमा सफाइ दिँदै नवलपुर जिल्ला अदालतले शाहलाई कैद सजाय सुनाएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

त्यस्तै, अदालतले शाहलाई २५ हजार जरिवानाको सजाय सुनाएको छ। पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने अदालतको फैसलामा उल्लेख छ । शाहको पक्षमा ७ जना वकिल र सरकारी वकिलका तर्फबाट ३ जना वकिलले बहस गरेका थिए। उनीविरुद्ध तनहुँ र नवलपरासी दुवै इजलासमा मुद्दा परेको थियो।


\गत चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो । २०७८ बैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ।

शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ । नवलपरासी जिल्ला अदालतले पनि पूर्पक्षको लागि थुनामा नै पठाउन आदेश दिएको थियो। त्यसपछि उनी उच्च अदालत कास्की पुगेका थिए । उच्च अदालतले पनि जिल्ला अदालतको निर्णय सदर गरेको थियो। उनीविरुद्ध परेको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन रहेको छ।