जनताले अहिले पनि नातागोता तथा जातका आधारमा भोट दिन्छन् : बिजुक्छें



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली जनताले अहिले पनि नातागोता तथा जातका आधारमा भोट दिने गरेको बताएका छन् । नेपाल मजदुर किसान पार्टीको ३३औँ केन्द्रीय परिषद्को बैठकमा उनले धर्म, जात, भाषामा विभाजित हुन नहुने बताएका हुन् ।

धर्म तथा ईश्वरमा विश्वास गर्ने र जातजाति तथा भाषाभाषीमा विभाजित पुरानो समाजमा तत्काल आमूल परिवर्तन ल्याउन नसकिने बताउँदै उनले कुनै पनि पार्टी सङ्गठन भएको ठाउँमा मात्र सैद्धान्तिक मत आउने भनाइ राखे । बिजुक्छँेले भने, “जातका आधारमा सङ्गठन गर्नु गलत हो, तर नेपाल बुझ्न विभिन्न जातिको अध्ययन चाहिँ गर्नुपर्छ, भौतिकवादी दृष्टिकोणको प्रचार गर्नुपर्ने अहिलेको आवश्यक हो ।”


केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, जिल्ला अध्यक्ष तथा प्रतिनिधि, जनवर्गीय सङ्गठन तथा पेसागत सङ्गठनका प्रतिनिधि सहभागी पार्टीको केन्द्रीय परिषद्को बैठकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरु पारित गरेको छ । बैठकले विभिन्न २३ वटा राष्ट्रिय तथा १० वटा अन्तर्राष्ट्रिय प्रस्तावहरु पारित गरेको पार्टी केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए ।