नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी



बुटवल । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । साझेदारी व्यापारको एक करोड भन्दा बढी रकम हडप्ने उद्देश्यले प्रहरीको मिलेमतोमा दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा उनलाई पक्राउ पुर्जी जारी भएको हो ।

सत्ता गठबन्धनबाट चुनाव जितेका माओवादी केन्द्रका नेता गुप्ता पक्राउ पुर्जी जारी भएपछि फरार छन् । अनुसन्धानको क्रममा गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएको सरकारी वकिल कार्यालयका एक अधिकृतले जानकारी दिएका छन् ।


घटनामा पक्राउ परेका गुप्ताका सहयोगी पूर्व नगर प्रहरी रघुनाथ धोबीको बयान र अन्य प्रमाणका आधारमा उनको संलग्नता देखिएको हो ।