क्यानडामा छुरा प्रहार गरी कम्तीमा १० जनाको हत्या



मध्य क्यानडाको सस्काचेवन प्रान्तमा छुरा प्रहारबाट कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । मृतक तथा पीडितहरू जेम्स स्मिथ क्री नेशन र नजिकैको वेल्डनसहित विभिन्न १३ स्थानमा फेला परेका थिए । दुई जनालाई उक्त घटनामा सन्दिग्धका रूपमा पहिचान गरिएको छ ।

तर उनीहरू फरार छन् । प्रहरीले ३१ वर्षीय डेमियन स्यान्डर्सन र ३० वर्षीय माइल्स स्यान्डर्सनसँग हतियार भएको र उनीहरूलाई खतरनाक मानिएको जनाएको छ । प्रान्तभरि उनीहरूको व्यापक खोजी भइरहेकाले सर्वसाधारण मानिसलाई घरभित्र बस्न भनिएको छ । त्यहाँ सुरक्षाजाँच गर्ने नाकाहरू स्थापना गरिएको छ ।


प्रहरीले यात्रुहरूको पहिचान जाँच गरिरहेका छन् र आरसीएमपी सस्काचेवनले चालकहरूलाई पदयात्रुलाई आफ्नो गाडीमा चढ्न नदिन आग्रह गरेको छ । जेम्स स्मिथ क्री नेशनमा सङ्कटकालीन अवस्था घोषणा गरिएको छ।

यो सानो गाउँ वेल्डनको उत्तरपूर्वमा रहेको आदिवासीहरूको क्षेत्र हो । सस्काचेवन, मनिटोबा र एल्बर्टा प्रान्तमा सबै मानिसको मोबाइल फोनमा खतरनाक व्यक्तिसम्बन्धी जानकारी पठाइएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले यस आक्रमणलाई भयानक र हृदयविदारक घटना भएको बताएका छन्।