गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्छ : मन्त्री बडू



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिम प्रदेशलगायत क्षेत्रमा मनाइने गौरा पर्वको संरक्षण र प्रवर्द्धन गर्न सबै लाग्नुपर्ने बताएका छन् ।

गौरा पर्व २०७९ को अवसरमा प्रशंसा संरक्षण समूहले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले गौरा पर्व र मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वको संरक्षणको निम्ति सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए ।


सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा रहेको गौरा पर्व, देउडा संस्कृतिको संरक्षण र सम्वद्र्धनमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।  

गहुँ, केराउ, गहत, मास र गुरौसको मिश्रणबाट बन्ने बिरुडा खाएर धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्ति तथा इष्ट र कुलदेवता खुसी हुने विश्वासका साथ मनाइने गौरा पर्वलाई धार्मिक सहिष्णुता र सद्भावको रुपमा पनि हेरिन्छ । गौरा पर्वको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सोही अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गौरा पर्व सुदूरपश्चिमको मात्रै नभएर सिङ्गो देशकै पर्व भएको बताउँदै त्यसको संरक्षण पनि सिङ्गो देशले नै गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) का नेता भीमबहादुर रावलले पछिल्लो समयमा कला, संस्कृति, भाषा कमजोर भन्दै गएको भन्दै त्यसको राज्यले संरक्षण गर्नुपर्ने बताए । पूर्वमन्त्री चन्द्रदेव जोशी, नेपाली कांग्रेसका नेता रमेश लेखक, सांसद नीरादेवी जैरु र नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टलगायतले गौरा पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

सो पर्वले विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई अझै बलियो बनाउने उनीहरूको भनाइ थियो ।