आन्तरिक पर्यटक बढेसँगै बेगनासतालका डुङ्गा व्यवसायीमा पलाउँदै आशा



पोखरा । सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ ।  कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा वर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो ।

कोरोनाकै कारण साढे दुई वर्षदेखि थला परेको डुङ्गा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी छन् । बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले यतिबेला बर्सातको समय भएकै कारण पर्याप्त मात्रामा पर्यटक नआएपछि अव दशैँ–तिहारमा बाहिरी जिल्लाका पर्यटक बढे भने व्यवसायीलाई राहत मिल्ने बताए ।


विशेष गरी शनिबार र बिदाका दिनमा बेगनास ताल वरपर आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान बेगनास आउने गर्छन् । माछाका परिकारका लागि बेगनास ताल वर्षौंदेखि प्रसिद्ध मानिँदै आएको छ । अर्का व्यवसायी शोभाखर कँडेलका अनुसार कोरोना अघि नौका बिहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने गरेकोमा अहिले ती दिन सम्झना मात्र रहेको बताउँछन् ।

कोरोनाका कारण यहाँ कार्यरत २५ प्रतिशत डुङ्गा व्यवसायी विस्थापित भएको र केही डुङ्गा व्यवसायी विदेश र कतिपयले अन्य व्यवसाय रोजेको डुङ्गा व्यवसायी समितिले जनाएको छ । यति बेला सबै डुङ्गा सञ्चालनमा छैनन्, आलो पालो चलाउने गरिन्छ ।

पोखराकै दोस्रो ठूलो ताल तीन सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनासमा दुई सय ४९ डुङ्गा सञ्चालनमा रहेको समितिले जनाएको छ । बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको फेवामा भन्दा बेगनासमा नै डुङ्गा चढ्न आन्तरिक एवं बाह्य पर्यटक मन पराउँछन् ।

‘स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर डुङ्गा सञ्चालन गर्ने गरेका छौँ’, डुङ्गा व्यवसायी राम कोइराला भन्छन् । बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले रु छ सय र पाइडलबोटको रु एक हजार लिने गरिएको छ । डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ ।

बेगनास तालमा विसं २०३७ देखि व्यावसायिकरुपमा डुङ्गा सञ्चालन हुँदै आएको हो । पैँतीस वर्षदेखि डुङ्गा व्यवसाय सञ्चालन गर्दै आएका शोभाखर कँडेल भन्छन्, ‘सं २०५३ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँको डुङ्गा व्यवसायका रुपमा मात्र थिएन ।  कास्कीको बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोको रुपमा यो ताल प्रयोग गर्दै आएका थिए।’