गृहमन्त्री खाँण रुपन्देही–२ बाट उम्मेदवार सिफारिस



बुटवल । गृहमन्त्री बालकृष्ण खाण प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही–२ बाट प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका छन् ।

बिहीबार नेपाली कांग्रेस क्षेत्रीय समितिले रुपन्देहीबाट प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो । यसअघिको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार रहेका खाण यसपटक प्रत्यक्षतर्फका उम्मेदवार बन्ने भएका छन् ।


मन्त्री खाणसहित नेताहरु युवराद गिरी र चुन्नुप्रसाद पौडेललाई पनि उम्मेदवार सिफारिस गरिएको छ । गिरी अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार विष्णु पौडेलसँग पराजित भएका थिए । रुपन्देही–२ मा अघिल्लो तीन संसदीय चुनावमा एमालेका पौडेल निर्वाचित हुँदै आएका छन् ।

अघिल्लो निर्वाचनबाट पराजित भएका भएका गिरी यसपटक गठबन्धनबाट जित्ने दाउमा छन् । यसो भएमा गृहमन्त्री खाण रुपन्देही–३ बाट चुनाव लड्न सक्ने बताइएको छ।

चुन्नुप्रसाद पौडल निजी अस्पताल, चाउचाउ, हाउजिङ, होटेल र सुर्तीलगायत उद्योगका सञ्चालक हुन् । यस्तै रुपन्देही ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा कांग्रेसले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उनी २०७४ को चुनावमा निर्वाचित भएका थिए।