ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा साउन २५ बाट लगाइने



२२ साउन । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतले भुटान र जापानबाट ल्याइएको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने बताएका छन् ।


भूटानले दिएको तीन लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइसकेको छ भने जापानले दिने १६ लाख डोज खोप शनिबार र आइतबार दुई लट गरेर ल्याइने उनले बताएका छन् । जापानबाट आउने १६ लाख डोज खोप सुनिश्चित भएकाले यही साउन २५ गतेदेखि दोस्रो डोज अष्ट्रेजेनेकाको खोप अभियान शुरु गर्न लागेको डा. गौतमले बताएका छन् ।



उनका अनुसार साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई लगाइनेछ । साथै प्रदेश १ र २ मा भने खोप अभियान केही ढिला शुरु हुने उनले बताएका छन् ।गत वर्षको फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजारभन्दा बढी ज्येष्ठ नागरिकले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका थिए ।

कोभिशिल्ड भारतको सेरम इन्स्टिच्यस्टले विकास गरेको खोप हो ।कोभिशिल्डको पहिलो मात्रा लगाएको १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने बताइए पनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।