निर्वाचन आयोगद्वारा आचारसंहिता जारी



काठमाडौँ । निर्वाचन आयोगले आगामी संघ तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आचार संहिता जारी गरेको छ। राजपत्रमा प्रकाशित निर्वाचन आयोगले आचार संहिता सार्वजनिक गरेको हो । आयोगको निर्णयपछि मात्रै यो लागू हुने छ ।

आचारसंहितामा राजनीतिक दल, नेता–कार्यकर्ता, उम्मेदवार, सञ्चार संस्था, सुरक्षाकर्मी, विभिन्न पेसाकर्मीहरुलाई पालना गर्नुपर्ने विषयहरु बुँदागतरुपमा उल्लेख छ । राजनीतिक दल वा उम्मेदवारको हकमा जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको चिज बोक्न बन्देज गरिएको छ।


राजनीति दलको पहिचान खुलाइएको विवरण भने वितरण गर्न सकिने आचारसंहितामा उल्लेख छ । एकभन्दा बढी राजनीतिक दल वा उम्मेदवारले एकै दिन एकै समयमा कुनै एक स्थानमा कार्यक्रम वा सभा नगर्न आचारसिंहतामा उल्लेख छ । प्रचारप्रसारको समयमा १२ घण्टाका लागि तोकिएको छ।

बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रासर गर्नुपर्ने आचारसंहितामा भनिएको छ । निर्वाचनको प्रचार प्रसार वा जुलुजमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ ।

त्यस्तै मनोनयन गर्न जाँदा २५ जनाभन्दा धेरै उपस्थित नहुन आचारसंहितामा उल्लेख छ। अनलाइन वेवपेज, टिभी, स्क्रोलिङ, डीस्प्ले आदिमा उम्मेदवारको प्रचार प्रसार गर्न पाइने छैन। तर पार्टी वा उम्मेदवारको आधिकारिक वेवपेजमा भने त्यस्तो सामग्री राख्न सकिने आचारसंहितामा उल्लेख छ।