स्वीडेनको तटीय क्षेत्रमा ३०० यात्रु बोकेको पानी जहाजमा आगलागी



स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् । स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले एएफपीसँग भने, “जहाजको डेकमा आगो लागेको छ, तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको छ र जहाजलाई खाली गर्ने काम सुरु गरिएको छ ।”

आगलागीबाट तत्काल कुनै क्षति भएको खबर प्राप्त भएको छैन भने आगलागीको कारण भने खुल्न सकेको छैन । “आगो नियन्त्रणमा आइसकेको छ,” कार्यालयका अर्का प्रवक्ता लिसा मजोर्निङले एएफपीलाई बताइन् । स्टेना स्क्यान्डिका नामक उक्त जहाज स्वीडेनको दक्षिणपूर्वी तटमा रहेको गोट्स्का स्यान्डन टापुमा रहेको समय आगलागी भएको थाहा भएको थियो ।