नागरिकता विधेयक र निर्वाचन तयारीबारे प्रधानमन्त्रीसँग राष्ट्रपतिको चासो



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीसँग नागरिकता विधेयककाबारेमा छलफल गरेकी छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री देउवा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई लिएर शीतल निवास पुगेका थिए ।


भेटमा राष्ट्रपतिले नागरिकता विधेयकका विषयमा केही जिज्ञासाहरू राख्नुभएको संचारमन्त्री कार्कीले जानकारी दिए । त्यस्तै राष्ट्रपतिसँग समसामयिक राजनीतिक विषय र निर्वाचनको तयारीकाबारेमा कुराकानी भएको उनले बताए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले धेरै नेपालीहरु नागरिकताविहीन भएको भन्दै विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गरेका थिए । सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक कुनै छलफल नगरी प्रतिनिधिसभामाबाट हुबहु पारित भएपछि राष्ट्रपति सरकारसँग असन्तुष्ट रहेको बताइएको छ ।

नागरिकता विधेयक यतिबेला राष्ट्रियसभाअन्तर्गतको विधायन समितिमा छलफलका लागि पठाइएको छ। राष्ट्रियसभाले छलफल आवश्यक रहेको भन्दै उक्त विधेयक विधायन समितिमा पठाएको हो ।

पछिल्लो समय राष्ट्रपति भण्डारीले नागरिकता विधेयककाबारेमा सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएकी छन्। राष्ट्रपतिले कानुनविद र प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनाका उच्च अधिकारीहरुसँग पनि यसबारेमा छलफल गरेकी थिइन् ।