सर्वोच्चले मेयर शाहलाई सोध्यो : अवहेलनामा किन सजाय नगर्ने ? ७ दिनभित्र जवाफ दिनू



काठमाडाैँ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई अदालतको अपहेलनामा किन कारबाही नगर्ने भन्दै लिखित जबाफ माग गरेको छ ।

न्यायाधीश हरिकृष्ण कार्की इजलासले अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए ।


नर्भिक अस्पतालको संरचना भत्काउने महानगरपालिकाको निर्णयमा सर्वोच्च अदालतले अन्तरिमकालका लागि रोक लगाएको थियो । लगत्तै मेयर शाहले संविधान संशोधन गरेर ‘नक्सा पासको अधिकार अदालतलाई दिऔं’ भन्दै अभिव्यक्ति दिएका थिए ।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनु पर्ने हो? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक ७(सात) दिनभित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्ने भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू ।’