यस्तो छ एमालेको उम्मेदवार छान्ने मापदण्ड



काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले केन्द्रीय कमिटी बैठकले बन्द सूची आगामी भदौ २२ गतेसम्म पठाइसक्नुपर्ने निर्णय गरेको जानकारी दिए । जिल्लाले पठाएको निर्णय अन्तिम नहुने उनले बताए ।


यस्तै बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक राय सुझावसहित केन्द्रमा सिफारिस गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र छनौट मापदण्ड तोकेको छ । उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्ध हुनुपर्ने, लोकप्रियता र विजयीको सुनिश्चितता, सन्तुलन र समावेशीता, निर्वाचन कानुनबमोजिम पूरा भएको हुनुपर्नेछ ।

एमालेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद नदोहोर्‍याउने भएको छ । बैठकले स्थानीय तहमा निर्वाचित भएकाहरुलाई पनि राजीनामा दिएर संघीय तथा प्रदेशसभाको सांसद नपाउने गरी मापदण्ड निर्धारण गरेको छ ।

उनले भने,’दामासायी वितरण भनेको समानुपातिक हो। समानुपातिकमा पहिलाकालाई दोहोर्‍याउन हुन्न। पराजित उम्मेदवारलाई फेरि उम्मेदवार बनाइनु हुन्न। प्रत्यक्षमा लोकप्रियतालाई पनि ख्याल गरिन्छ। जित्ने सम्भावना बढी भएकालाई उम्मेदवार बनाइनेछ ।’

जनाधार, आवश्यकता र लोकप्रियतालाई ध्यान दिने एमालेले जनाएको छ। प्रत्यक्ष निर्वाचनमा जित्ने सम्भावना बढी र संसदीय भूमिका बढी भएकालाई प्राथमिकता दिइने उपमहासचिव गुरुङले बताए ।

बैठकले  पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेको छ । बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको छ।

उम्मेदवार चयनको मापदण्ड

– पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता

– लोकप्रियता र विजयको सुनिश्चितता

– पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान

– सन्तुलन र समावेशिता

– निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने ।