विश्वविद्यालयमा तालाबन्दी होइन, वार्ताबाट समाधान गरौँ : शिक्षामन्त्री



काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सिङ्गो शिक्षाको केन्द्रविन्दु भएको बताएका छन् । ‘उच्च शिक्षा सुधार, सम्भावना र चुनौती’ बारे त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस प्रमुखसँगको छलफलमा मन्त्री पौडेलले देशको ८० प्रतिशत जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु भएकाले यसका शैक्षिक गतिविधिमा बाधा उत्पन्न हुन नहुने बताए ।

“त्रिभुवन विश्वविद्यालय समग्र शिक्षाको केन्द्र विन्दु हो”, शिक्षामन्त्री पौडेलले भने, “हामीले हल गर्न सक्ने कुरा हामी मिलेर हल गरौँ अरुलाई आरोप प्रत्यारोप लगाउने काम बन्द गरौँ ।” विश्वविद्यालयमा बेथति बढ्दै गएको बताउँदै उनले त्यसलाई सुधार्न शिक्षा मन्त्रालय प्रतिवद्ध रहेको उल्लेख गरे । “त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी हुनु राम्रो पक्ष होइन, प्रधानमन्त्रीले पनि विश्वविद्यालयमा लगाइने तालाबन्दी सधैँका लागि अन्त्य गरिनुपर्ने बताउँदै आउनुभएको छ”, मन्त्री पौडेलले निर्देशन दिँदै भने, “समस्याको समाधान तालाबन्दी होइन, वार्तामार्फत टुङ्ग्याउँ नभए बल प्रयोग गरेर भए पनि तालाबन्दी खुलाऔँ ।”


शिक्षामन्त्री पौडेलले विश्वविद्यालयका आंशिक, करार कर्मचारीको समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग पहल भइरहेको बताए । “आंशिक तथा करार कर्मचारीले स्थायी हुनुप¥यो भनेर विभिन्न सङ्घ सङ्गठन निर्माण गरेर आउने गर्नुभएको छ”, उनले भने, “सेवा आयोगमार्फत अन्तिम पटक आन्तरिक प्रतिस्पर्धा गराएर अरु खुल्ला प्रतिस्पर्धामार्फत ल्याउने कुरा लागू गरौँ ।” विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणमा बल्र्ड बैंक, एडिभी बैंकसँग पनि छलफल भइरहेको बताउँदै उनले त्रिचन्द्र क्याम्पसको भवन सरकारले बनाउने बताए ।

छफलफलमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति डा धर्मकान्त बास्कोटाले राजनीतिक खिचतानीले विश्वविद्यालय बिग्रिँदै गएको आरोप र विश्वविद्यालयमा राजनीतिक दलको आडमा तालाबन्दी, नाराजुलुस हुँदै आएको बताउँदै विपक्षी दलसहित मिलेर विश्वविद्यालय सुधार्न सकिने धारणा राखे ।