फोगाटको बलात्कारपछि हत्या भएको दाबी, आरोपित पक्राउ



भारतीय जनता पार्टीकी नेत्री सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फोगाटको शव परीक्षण (फोष्टमोर्टम)का क्रममा उनको शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ ।

फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि थिइन् । उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य बिधानसभामा पराजित उम्मेदवार थिइन् । प्रहरीका अनुसार सन्दिग्ध ती दुबै जनालाई बिहीवार साँझ पक्राउ गरिएको छ ।


पारिवारिक स्रोतका अनुसार सीसीटीभीद्वारा खिचेको दृष्यमा उनलाई सँगै रहेका दुईमध्ये एक जनाले जवर्जस्ती कुनै नशालु पदार्थ सेवन गराएको देखिएको छ । पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगस्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी थिइन् ।

प्रारम्भिक रिपोर्टहरूमा उनको हृदयाघातका कारण निधन भएको बताइएको थियो । तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाट कै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए ।

उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप पनि लगाएका छन् । उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरे ।

ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए । त्यस्तै उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटीएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाएका छन् ।