नवौँ राष्ट्रिय खेलकुद : बैतडीमा छनोट प्रतियोगिता शुरु



बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि शुरु भएको छ । छनोट प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीले उद्घाटन गरे ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सबै सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो । यही भदौ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि पहिलो दिन आज महिला पुरुष क्रिकेट, टेबल टेनिस (महिला/पुरुष), बुद्धिचाल, भारत्तोलन पुरुष, कराँते, तेक्वान्दो (महिला/पुरुष) छनोट सम्पन्न भएको छ ।


बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार भदौ ११ गते सदरमुकाममै ब्याडमिन्टन (महिला/पुरुष), उसु फुल कन्टाक्ट, कराँते (महिला÷पुरुष) र भदौ १२ गते मेलौली खेल मैदानमा भलिबल (महिला/पुरुष) छनोट खेल हुनेछ । यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी(महिला/पुरुष), एथ्लेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ (पुरुष) छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ ।

दर्ता फाराम नभरेका खेलाडीलाई छनोट खेलमा सहभागी नगराइने र छनोट प्रतियोगितामा सहभागी नभएका खेलाडीलाई छनोट नगरिने समेत सूचनामार्फत जनाइएको छ । छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ३२९ खेलाडीले आवेदन दिएका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने तय भएको छ ।