उपत्यकामा यसरी बिक्री हुन्छ विदेशी ब्राण्डका नक्कली मदिरा



काठमाडौँ । प्रहरीले ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो ।

विदेशी ब्राण्डका डबल ब्ल्याक, ब्लयाक लेबल, ज्याक डेनियल्स लगायतको ब्राण्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।


पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले भदौ पाँच गते कोटेश्वर क्षेत्रमा नक्कली मदिरा बिक्री वितरण गरेको सूचना पाएकोे आधारमा तत्काल प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरबाट विशेष प्रहरी परिचालन गरी पक्राउ गरेको जानकारी दिए ।

उनले अनुसन्धानमा हरि वलीसहित पाँच जना नक्कली मदिरा बनाएर बेच्ने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको बताए । नक्कली मदिरा बनाएर बच्नेमा दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ छन् ।

उनले उनीहरुले स्वदेशी मदिरामा थोरै विदेशी मिसाएर बोतलमा हालेर विभिन्न नाइट क्लव, लञ्च, डिस्को, विभिन्न मदिराका डिलर,दोहोरी र डान्स बारमा बिक्री वितरण गर्ने गरेको भेटिएको बताए । उनले स्वदेशी मदिराको अन्तःशुल्क स्टिकर झिकेर बोतलमा लगाएर बेच्ने गरेको पनि बताए ।

प्रमुख बोहोराले उनीहले स्टक क्लियरेन्स भन्दै बजार भाउ भन्दा हजार रुपैयाँ सस्तोमा त्यो मदिरा बेच्ने गरेको भेटिएको जानकारी दिए ।

भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा भगवान बस्नेतले फ्याक्ट्री खोलेर डबल ब्लयाक लेभल भन्दै बजारमा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रमुख बोहोराले भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८ हजार ८४८ भोड्का बरामद भएको थियो । त्यस्तै कोटेश्वर बस्ने हरि वलीको कोठाबाट पनि डबल ब्ल्याक ८ बोतल, ब्ल्याक लेबल ११ बोतल ,ज्याक डेनियल्स ११ बोतल,बोल्डेन वाक लेखेको खाली बोतल ९६ वटा बरामद भएको प्रहरीले जनाएको छ ।

उनले बरामद गरिएका सामान सबै सिलप्याक अवस्थामा रहेको पनि बताए । यस्तै फ्याक्ट्रीबाट डबल ब्लयाक लेभलका खाली बोतल ८ वटा, ब्ल्याक लेभलका खाली बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खालि बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका मदिरा प्याक गर्ने खालि बोतलहरु ठूलो परिमाणमा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली मदिरा बनाएर बेच्ने पाँचै जनालाई कालोबजारी तथा सामाजिक अपराध सजाय ऐन अन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको जनाएको छ ।