विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी, क्यान्टिनका सञ्चालक पक्राउ



झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चौकीदार विष्टले सञ्चालन गरेको क्यान्टिनमा बनाइएको छोलामुरी खाजा खाए लगत्तै कक्षा एकदेखि छ सम्मका विद्यार्थी बिहीबार दिउँसो बिरामी भएका थिए । खाजा खाएकामध्ये २६ जनालाई उपचारका लागि भद्रपुर स्थित मेची अस्पतालमा भर्ना गर्नुपरेको विद्यालयकी शिक्षिका सुभद्रा अर्यालले बताइन् ।

काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चौकीदार विष्टले सञ्चालन गरेको क्यान्टिनमा बनाइएको छोलामुरी खाजा खाए लगत्तै कक्षा एकदेखि छ सम्मका विद्यार्थी बिहीबार दिउँसो बिरामी भएका थिए । खाजा खाएकामध्ये २६ जनालाई उपचारका लागि भद्रपुर स्थित मेची अस्पतालमा भर्ना गर्नुपरेको विद्यालयकी शिक्षिका सुभद्रा अर्यालले बताइन् ।


विद्यार्थीलाई सरकारले दिवा खाजा निःशुल्क उपलब्ध गराउने व्यवस्था छ । विद्यालयका चौकीदारले परिसरभित्रै सञ्चालन गरिरहेको क्यान्टिनलाई रकम दिएर विद्यार्थीका लागि दिवाकालीन निःशुल्क खाजा बनाउन लगाउने गरिएको  थियो । बिहीबार खाजा मात्र विषाक्त नभएर विद्यार्थीलाई दिइएको पानीसमेत दूषित रहेको गुनासो आएको प्रहरीको भनाइ छ । “विद्यार्थीलाई पिउन दिइएको पानीमा मसिना कीरा भेटिएको गुनासो आएको छ, यसबारेमा पनि हामीले अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक महतोले बताए ।

विद्यालयका निमित्त प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले क्यान्टिनले लापरबाही गरेको विषयमा छानबिन गरिने जानकारी दिए । घटनापछि सो क्यान्टिन बन्द गरिएको छ भने क्यान्टिनका खानेकुराको नमूना गुणस्तर जाँचका लागि सम्बन्धित निकायमा पठाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङले जानकारी दिए ।

विद्यालयकै क्यान्टिनको खाजा विषाक्त भएको घटनाप्रति स्थानीय अभिभावक आक्रोशित भएका छन् । क्यान्टिनले पहिलेदेखि नै लापरबाही गर्दै आएको गुनासो गर्दासमेत विद्यालय प्रशासनले गुणस्तर जाँचमा ध्यान नदिएको अभिभावकको आरोप थियो ।