भिसा नियम तोडेको आरोपमा म्यान्मारका लागि बेलायतकी पूर्व राजदूत पक्राउ



म्यान्मारका लागि बेलायतकी पूर्वराजदूत विकी बोमन र उनका श्रीमान्लाई म्यान्मारका सैन्य अधिकारीहरूले पक्राउ गरेका छन् । उनलाई भिसा नियम उल्लङ्घन गरेको र उनका श्रीमान्माथि उनलाई म्यान्मारमा बस्न सहयोग गरेको आरोप लगाइएको छ । त्यस्तो कसुरमा म्यान्मारमा पाँच वर्षसम्म जेल चलान सजाय हुनसक्छ ।

बोमनले सन् २००२ देखि २००६ सम्म म्यान्मारको राजदूतका रूपमा काम गरेकी थिइन् । बोमनले याङ्गुनमा म्यान्मार सेन्टर फर रेस्पोन्सिबल बिजनेस संस्था सञ्चालन गरिरहेकी छिन् । उनले बर्माका कलाकार र पूर्व राजनीतिक बन्दी टेन लिनसँग विवाह गरेकी थिइन् ।


आगामी ६ सेप्टेम्बरका लागि तय भएको सुनुवाइअघि यो जोडीलाई इन्सेन जेलमा राखिएको छ । बेलायती दूतावासले उनलाई परामर्श उपलब्ध गराइएको जनाएको छ । उनले सञ्चालन गरेको संस्थाले म्यान्मारमा जिम्मेवार व्यापार प्रवर्द्धनका लागि प्रोत्साहन गर्ने अभियानको रूपमा चिनाउने गरेको छ ।

यसले अर्को संस्था इन्सटिच्यूड फर ह्युमन राइट्स एण्ड बिजनेससँग सहकार्य गर्दै आएको छ । म्यान्मारको सैनिक सत्तामाथि व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लाग्दै आएको छ ।

देशको जनमत आन्तरिक द्वन्द्वका कारण विभाजित भइरहँदा यसै महिनाको सुरुमा सैनिक अधिकारीहरूले सङ्कटकालीन शासन सन् २०२३ सम्म लम्ब्याउने निर्णय लिएका थिए ।

त्यहाँको सैनिकले प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित आङ सान सूकीको सरकारलाई अपदस्त गर्दै गत वर्ष सत्ता हातमा लिएको थियो । मानवता विरोधी गतिविधिहरूबारे विवरणहरू सार्वजनिक भइरहँदा गत जुलाईमा म्यानमारको सेनाले चार जना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दियो।