झारखण्डका मुख्यमन्त्री सोरेनलाई मुख्यमन्त्री रहन अयोग्य घोषणा गर्न सिफारिस



भारतीय निर्वाचन आयोगले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनमाथि भ्रष्टाचारको आरोप लागेपछि उहाँलाई अयोग्य घोषित गर्न सिफारिस गरेको छ । सोरेन राजनीतिक दल झारखण्ड मुक्ति मोर्चाका नेता हुन् र राज्यमा गठबन्धन सरकारको नेतृत्व गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमपछि उनले आफ्नो दलका सबै सांसदहरूलाई राज्यको राजधानी राँचीमा भेला भई छलफल गर्न र थप कार्यदिशा तय गर्न बोलाएका छन् ।

सोरेन झारखण्डको मुख्यमन्त्री हुँदा आफू र आफूनिकटका व्यक्तिलाई खानीको ठेक्का दिने कार्यमा संलग्न रहेको आरोप लागेको छ । राज्यका पूर्व मुख्यमन्त्री रघुवर दास, जो वर्तमान विपक्षी भारतीय जनता पार्टी (भाजपा) का सदस्य हुन्, उनले सोरेनविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए । आरोपपछि निर्वाचन आयोगले मुख्यमन्त्री हेमन्त सोरेन र उनका भाइ बसन्त सोरेनको सुनुवाइ गरेको थियो ।


स्रोतका अनुसार निर्वाचन आयोगले राज्यका राज्यपाल रमेश बैसलाई सिफारिस गरेको थियो, जसले भाजपाका रघुवर दासको उजुरी प्राप्त भएपछि निर्वाचन आयोगको राय मागेका थिए । यसैबीच, मुख्यमन्त्रीको कार्यालयले बिहीबार मुख्यमन्त्रीको अयोग्यताबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ । निर्वाचन आयोगको सिफारिसपछि राज्यका गभर्नरले सोरेनको अयोग्यताबारे निर्णय लिने अपेक्षा गरिएको छ ।