अल्फाबिटाको अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना हटाएको छ । अल्फा हाउसका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि बिहीबार अपरान्ह मेयर बालेन साह डोजर लिएर पुगेका थिए ।

त्यसपछि संरचना डोजर लगाएर भत्काइएको थियो । अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर साह बिहीबार विहान अल्फाबिटा पुगेका थिए । अल्फा बिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर साहले त्यो हटाउन भनेका थिए।


त्यसक्रममा संचालकसँग केहीबेर भनाभनसमेत भएको थियो । बुधबार महानगरले काठमाडौं मल, आरबि कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काएको थियो । त्यस्तै अरू विभिन्न ठाउँमा पनि अवैध संरचना भत्काउन मेयर साहले निर्देशन दिएका छन् ।