राष्ट्रपतिले नेपाली सेनाका पूर्वजर्नेलहरूसँग परामर्श गर्नु संविधान विपरीतः बाबुराम भट्टराई



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरूसँग परामर्श गरेको बताएका छन् ।

बिहीबार समाजिक संजालमार्फत भट्टराईले नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल नभएको बताएका हुन् ।


उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन । नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन । चुनावको मुखमा’राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन !’

आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसद्मा फिर्ता पठाएको र संसद्बाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श गर्दै आएकी छन् । सोहीक्रममा बुधबार उनले नेपाली सेनाका पूर्वजर्नेलहरूसँग छलफल गरेकी थिइन् ।