महानगरपालिकाअन्तर्गत कार्यरत कर्मचारी र शिक्षकलाई दलीय आवद्धता त्याग्न बालेनको निर्देशन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाअन्तर्गत कार्यरत कर्मचारी र शिक्षकलाई दलीय आबद्धता त्याग्न महानगर प्रमुख बालेन्द्र साह (बोलेन)ले निर्देशन दिएका छन्।

बुधबार सामाजिक संजालमार्फत उनले उच्च अदालतको फैसला र महागरपालिका कर्मचारी ऐन अनुसार काठमाडौँ महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था भएको भन्दै आबद्धता त्याग्न भनेका हुन् ।


उनले भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको कार्यक्षेत्र भित्र सुशासन प्रबद्र्धन गर्नको लागि महानगर अन्तर्गतका शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्य हुनु कानून सम्मत हुँदैन ।’

उनले काठमाडौँ महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलिय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थालाई अपील पनि गरेका छन्।

साथै, उनले राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्यको रुपमा राजनीतिक आवद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आवद्धता तत्काल त्याग्न पनि आग्रह गरेका छन् । साहले निर्देशन पश्चात पनि कर्मचारी र शिक्षक दलमा आबद्ध भएमा आफ्नो इमेलमा सूचना पठाउन पनि आग्रह गरेका छन् ।