भ्रष्टाचार मुद्दामा मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई १२ वर्ष जेल सजाय



मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई अदालतले भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको छ । मंगलबार मलेसियाको संघीय अदालतले रजाकलाई सम्पत्ति शुद्धीकरण, शक्तिको दुरुपयोग र भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको हो ।

६९ वर्षीय रजाकलाई मलेसियाको तल्लो अदालतले दोषी ठहर गरेको थियो । तर उनी धरौटीमै बाहिर थिए । साथै उनको पुनरावेदन पनि विचाराधीन थियो । उनीविरुद्ध वान एमडीबीअन्तर्गतको एसआरसी इन्टरनेसनलसँग अवैधानिक रूपमा १ करोड अमेरिकी डलर लिएको आरोपसमेत लागेको थियो ।


मंगलबार संघीय अदालतले त्यही मुद्दामा सुनुवाइ गरेको हो । अदालतले रजाकको पुनरावेदन खारेज गरेको हो । उनलाई १२ वर्ष जेल सजायका साथै ४ करोड ६० लाख अमेरिकी डलर जरिवानासमेत सुनाएको छ ।

प्रधानन्यायाधीश तेंग्कु माइमन तुआन म्याटले नजिबको पुनरावेदन सर्वसम्मतिले खारेज गरेको बताएकी थिइन् । अभियोजनकर्ताहरूले नजिब सहसंस्थापक रहेको वान एमडीबीबाट ४ अर्ब ५० करोड अमेरिकी डलर हिनामिना गरिएको बताएका थिए । त्यसमध्ये १ अर्ब अमेरिकी डलर नजिबको खातामा भेटिएको उनीहरूले प्रमाण पेस गरेका थिए ।