बस्तीपुरवासीको गुनासो : नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाइएन



लहान । सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने। तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उनको इच्छा त्यत्तिकै रह्यो।

उपचारका क्रममा निधन भएका कांग्रेस नेता गिरीको निधनपछि काठमाडौंको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका कारणले उनको गृह जिल्ला तथा त्यस क्षेत्रका स्थानीय अन्तिम बिदाइ गर्नबाट बञ्चित भएका हुन्। गिरिको अन्तिम संस्कार गाउँमै गर्नका लागि स्थानीयवासी र स्वयम् उनले इच्छा व्यक्त गरेका थिए। आफ्ना प्रिय नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली दिनबाट बञ्चित हुनुपरेको बस्तीपुरवासी गुनासो छ। 


गिरिको निधन भएको दिन बस्तीपुरवासीले गाउँमै रहेको गिरिको आश्रममा अन्तिम संस्कार गर्नका लागि प्रतीक्षा गरेर दिनभरि बसेको भए पनि काठमाडौंबाट उनको पार्थिव शरीर नआएपछि बस्तीपुरका स्थानीय निराश भएका थिए। 

शुभेच्छुक तथा नेता कार्यकर्ताहरूको प्रदीप बाबुको अन्तिम पटक मुख हेर्ने इच्छा थियो तर सयौं स्थानीयवासी सो अवसरबाट बञ्चित भएको आश्रममा बस्दै आएका दीप परियारले बताए।

उनले भने, ‘गिरिले आफ्नो मृत्यु भएपछि अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्नुभएको थियो। सोहीअनुसार हामीले उहाँको शव गाउँमा ल्याउन आग्रह गरेका थियौं तर त्यसो भएन।’ 

बस्तीपुर र समाज निर्माणमा प्रदीप दाइको ठूलो योगदान भएकाले त्यो योगदानको सम्मान स्वरूप पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने इच्छा पूरा नहुँदा दुखित भएको स्थानीयवासी चलितर साहले बताए।

शान्त र शालिन स्वभावका व्यक्तित्व नेता गिरि पुर्ख्यौली गाउँ बस्तीपुर नजिकै खुट्टीखोलाको पश्चिम किनारको आश्रममा बस्दै आएका थिए।

प्रदीप दाइले आफ्नो अन्तिम संस्कार आश्रममै होस् भन्ने इच्छा व्यक्त गरेको स्थानीय रामकृष्ण चौधरीले बताए। उनका अनुसार प्रिय नेता गिरिको निधनले बस्तीपुरवासी शोकमा डुबेका छन्।  

अन्तिम संस्कार गाउँमा नहुँदा आफूहरू झनै दुःख लागेको चौधरीको भनाइ छ।  

आफूहरूसँगै खेलेको, हुर्केको, भलाकुसारी गरेको, विभिन्न कालखण्डमा सहययोग एवं सद्भाव बाँडेका नेता गिरिको निधनका कारण गाउँ शोकाकूल छ। वि.सं २००४ मा जन्मेका गिरि विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। उनी २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।  

नेता गिरिको शोकमा सिरहाको लहान नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो। आफूहरूले मत दिएर जिताएका अभिभावक गिरिको उपचार काठामाडौंस्थित मेडिसिटी अस्पतालमा भइरहँदा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयवासीले गाउँमा भजन किर्तन गरेका थिए।