दाहालसँग भेटेर विदेशी राजदूतको प्रतिनिधिमण्डलले लियो संक्रमणकालीन न्याय कानुनसम्बन्धी जानकारी



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि विभिन्न देशका राजदूतहरुले भेट गरेका छन् ।

शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर संयुक्त राष्ट्रसंघका लागि आवसीय प्रतिनिधि रिचार्ड हवार्ड, अमेरिकी राजदूत र्यान्डी बेरी, बेलायती, अस्ट्रेलियालीलगायत स्विटजरल्यान्ड र युरोपियन युनियनका राजदूतहरुले भेट गरेका हुन् ।


उनीहरुले भेटका क्रममा नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेको भन्दै प्रचण्डलाई आफूहरुको सकारात्मक सहयोग र सद्भाव जारी रहने बताएका थिए ।

राजदूतहरुले नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको बताएका थिए। उनीहरुले शान्ति प्रक्रियाको नेपाली मोडल सफल हुनेमा विश्वस्त रहेको बताएका थिए। उनीहरुले गम्भीर मानव अधिकार उल्लंघनका घटना र पीडितहरुको पुनरावेदनको अधिकारका बारेमा प्रचण्डसँग चासो राखेका थिए ।

जवाफमा प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए। विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संवेदनशिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भइरहेको प्रचण्डले राजदूतहरुलाई जानकारी गराएका थिए ।

सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन आफूहरु सफल हुने विश्वास प्रचण्डले व्यक्त गरेका थिए।