पार्टीमा विचलन देखापर्योः प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विचलन देखापरेको बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसमा प्रचण्डले पार्टीमा अहिले क्रान्तिकारी नै बाँकी नरहेको बताए। उनले भने, ‘पार्टी पहिले जस्तो रहेन। केही बिग्रिएको छ ।

व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन देखिएको छ।’ प्रचण्डले पार्टीका नेताका मुखमा क्रान्तिकारी रहे पनि व्यवहार, आचरण र दैनन्दिनमा नरहेको दाबी गरे। उनले भने,‘पार्टीमा भनाइ र गराइमा ठूलो अन्तर देखा परिसकेको छ । व्यक्तिवादी चरित्रलाई हटाउन नसके क्रान्तिकारी हौँ भन्ने कुराको औचित्य समाप्त हुन्छ।’


अध्यक्ष प्रचण्डले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गरे । उनले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्न आवश्यक रहेको बताए। उनले भने, ‘पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्छ ।’