प्रतिनिधिसभाबाट आजै नागरिकता विधेयक पारित गर्ने तयारी



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाको आजको बैठकबाट नै पारित गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्नेछन् ।

बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यक्रमको सूचीमा नागरिकता विधेयकलाई पुनर्विचार गरियोस् र पारित गरियोस् भनेर गृहमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । गृहमन्त्री खाँणले राखेको उक्त प्रस्तावमा सांसदहरूले आफ्ना धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।


राष्ट्रपतिले साउन २९ गते नागरिकता विधेयक पुनर्विचार गर्न भनेर प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । जसको सत्तारुढ गठबन्धनले विरोध गरेको छ ।

गठबन्धनले संघीय संसद्का दुवै सदनबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने निर्णय गरिसकेको छ । त्यस आधारमा हेर्दा सत्ता गठबन्धनको बहुमत हुने भएकाले गृहमन्त्रीले राखेको प्रस्ताव पारित हुँदा आजको बैठकबाटै नगारिकता विधेयक पारित हुनेछ ।