कांग्रेस लोकतान्त्रिक पार्टी रहेन, प्रचण्डको कार्यकर्ता भयाे : ओली 



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता भएको आरोप लगाएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्रसँग विचारनै नभएको आरोप लगाएका हुन् ।

उनले माओवादी पार्टी प्रचण्ड एण्ड कम्पनी रहेको बताए र उनले भने, ’कांग्रेस अब लोकतान्त्रिक रहेन । कांग्रेस लोकतान्त्रिक पार्टी हुँ भन्ने कहिँकतै रहेन । कांग्रेस प्रचण्डको कार्यकर्ता हो । अब अरु पार्टीको त के कुरा गर्ने ?’


उनले माओवादीले पार्टीको रुपनै नलिएको बताए । समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा सबैको योगदान हुनुपर्ने बताए । ओलीले गठबन्धनले देश चलाउन नसकेको बताए । उनले राष्ट्रपतिले फिर्ता पठाइदिएको नागरिकता विधेयकमा पुनर्विचार नगर्ने सत्ता गठबन्धनको निर्णयप्रति आपत्ति जनाए ।

उनले गठबन्धनलाई ‘टाउकोमा खोपडी नभएकाहरु’ को सज्ञा दिए । उनले यस्तालाई सरकारमा राख्नुहुन्छ नेपाली जनताले ? टाउकामा खोपडी नभएका, पाखुरामा मसल मात्रै भएकाहरु हुन्। खोपडीहीन मसले। यस्ता मसले, तिघ्राको मात्रै भाषा बोल्ने। यस्ताहरुलाई सरकारमा राखेर देश चल्छ ?’

उनले गठबन्धनको सरकारलाई लामोसमयसम्म रहन दिनु देशका लागि दूर्भाग्यपूर्ण भएको बताए । उनले सरकार कस्तो छ भन्ने कुरा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेबाटै थाहा हुने बताए ।

उनले भने, ‘विधेयकमा कमीकमजोरी नरहोस् भनेर राष्ट्रपतिले फिर्ता पठाउनुभएछ। संसद्मा होइन, बाहिर बसेर, राष्ट्रपतिले फिर्ता पठाउनुभएपछि मसल छामेर राष्ट्रपतिले फिर्ता पठाउने ? जस्ताको तस्तै फिर्ता पठाइदिने भनेर हिजो निर्णय गरे ।’