आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन र बिक्रीमा पूर्ण प्रतिबन्ध



काठमाडौँ । सरकारले आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्ता झोला प्रयोग गरेको देखे वा जानकारी भए स्थानीय सरकारले उत्पादन र बिक्री गर्नेमाथि तत्काल कारबाही गर्ने बताइएको छ ।

वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो झोला उत्पादन गरे वा नगरेको विषयमा आजैबाट प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योगको अनुगमन शुरू गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले प्रतिबन्धसम्बन्धी नियम भदौ १ अर्थात् आजबाट लागु गर्ने गरी सूचना जारी गरेको थियो ।


सोही सुचनाको आधारमा आजबाट अनुगमन शुरू गर्न लागिएको वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले मंगलबार बताए। उनका अनुसार स्थानीय प्रशासनको सहयोगमा उद्योग अनुगमन गर्न लागेको हो ।

स्थानीय तहले ४० माइक्रोनभन्दा पातलो झोला प्रयोग गरे/नगरेको विषयमा अनुगमन गर्नेछ । प्रवक्ता पौडेलले बजार अनुगमन गर्ने जिम्मा वाणिज्य विभागको भएको जिकीर गर्दै वाणिज्य विभागको टोलीले बजार अनुगमन गर्ने र वातावरण विभागको टोलीले उद्योगमा अनुगमन गर्नेछ ।

उनका अनुसार मापदण्डभन्दा कम माइक्रोनको झोला उत्पादन गरेको फेला परे वातावरण संरक्षण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ । सरकारले २०७२ साल वैशाख १ गतेदेखि लागु हुनेगरी नियम झोला प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन । फेरि सो नियम पुनः ब्युँताएर आज भदौ १ गतेबाट लागु गरेको हो ।