बाजुरा । बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ ।
स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ सोमबार औपचारिक रुपमा जिल्लाका १६ महिनादेखि २३ महिनाका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडा र पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
जिल्लाका सबै स्थानीय तहहरुमा ती उमेर समूहका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्ण खोप घोषणा गरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त जनस्वास्थ्य अधिकृत महेश चन्दले जानकारी दिए ।
जिल्लामा जन्मेदेखि १५ महिनाका तीन हजार पाँच सय ६६ बालबालिका रहेको तथ्याङ्क छ भने खोप कार्ड भएका तीन हजा पाँच सय २२ बालबालिका छन् ।
सर्वेक्षणमा छुटेका बालबालिकालाई अगामी वैशाख महिनामा खोप लगाउने योजना रहेको उहाँले बताउनुभयो । बाजुरालाई सुदूरपश्चिम प्रदेश ९औँ र देशभरका जिल्लामा २२औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको अधिकृत चन्दको भनाइ छ ।
खोप पाउनबाट छुटेका बालबालिकाको सर्वेक्षण गर्दा कुनै पनि प्रकारका खोप नपाएका जिल्लामा चार बालिबालिका छन् । खोप घोषणा कार्यक्रममा कुनै न कुनै खोप नपाएका ११ बाबालिका रहेका छन् ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणामा १६ देखि २३ महिनाका दुई हजार दुई सय ४१ बालबालिका छन् । तीमध्ये दुई हजार एक सय ६८ बालबिािलकाले खोप पाएका छन् भने ७३ बालबालिकाले खोप पाएका छैनन् ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवं खोप समन्वय समितिका संयोजक तुलसीराम रोकायाले खोपलाई प्रभावकारी बनाउन र बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन सबैले हातेमालोे गर्नुपर्ने बताए ।
जिल्ला भर पुनःसर्वेक्षण गरेर खोप लगाउन छुटेका बालबालिकालाई फेरि खोप लगाउने कार्यक्रम तय गर्ने पनि उनको भनाइ छ । खोप पाउनबाट वञ्चित भएकाक बुढीगङ्गामा तीन बालबालिका र बडीमालिका नगरपालिकामा ११ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
घोषणा कार्यक्रममा प्रत्येक वर्ष खोपलाई निरन्तरता दिने र यसलाई पालिकामा गुणस्तरीय रुपमा अझै अगाडि बढाउने बडीमालिका नगरप्रमुख अमरबहादुर खड्काले जानकारी दिए ।